मधेश प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

सिरहा, नेपाल

परिचय

नेपालमा कृषि विकासको संस्थागत प्रयास वि.सं. १९७८ मा सरकारी स्तरमा कृषि अड्डाको स्थापना पश्चात भएको मानिन्छ । बि.सं. २००८ सालमा कृषि विभागको स्थापना भयो । बि.सं. २०२३ सालमा कृषि विभागलाई पाँच वटा विभागहरु (कृषि प्रसार, मत्स्य, बागवानी, पशु स्वास्थ्य र कृषि शिक्षा तथा अनुसन्धान विभाग) मा पुनर्गठन गरियो । बि.सं. २०२९ मा पांचै विभागहरुको एकिकरण गरि पुनः कृषि विभाग कायम भयो । वि.सं. २०२९ सालमा कृषि बजारको संबेदनशिलता एवं आवश्यकतालाई दृष्टिगत गरि खाद्य तथा कृषि बजार सेवा विभागको स्थापना भयो । वि.सं. २०३६ सालमा पशु सेवा विभागको स्थापना भयो । वि.सं. २०४५ सालमा कृषि विभागबाट छुट्टै बागवानी विभाग गठन गरियो । वि.सं. २०४९ मा कृषिका निकायहरुलाई “एउटै छानो मुनी” राख्ने नीति अनुरुप वागवानी विभाग, बाली तथा मत्स्य विभाग, खाद्य तथा कृषि बजार सेवा विभाग, पशु स्वास्थ्य तथा पशु विकास विभाग र केन्द्रिय खाद्य अनुसन्धान प्रयोगशालालाई गाभी एउटै कृषि विकास विभागको स्थापना भयो । वि.सं. २०५२ सालमा कृषि विकास विभागको संगठनमा पुनः हेरफेर गरि तत्कालिन कृषि विकास विभागबाट कृषि विभाग, पशु सेवा विभाग र केन्द्रिय खाद्य अनुसन्धान प्रयोगशाला समेत गरि तीन फरक फरक विभाग खडा भए । वि.सं. २०५७ मा पुनः केहि हेरफेर गरि कृषि विभाग अन्तर्गतका ११ वटा प्राविधिक महाशाखाहरुलाई १२ वटा कार्यक्रम निर्देशनालयमा परिवर्तन गरियो । वि.सं. २०६१ सालमा कृषि विभागका महानिर्देशक अन्तर्गत रहेका दुइ उपमहानिर्देशकमा प्रबिधि विस्तार तथा समन्वयका उपमहानिर्देशक थप गरी तिनवटा उपमहार्निदेशक र प्रबिधि विस्तार तथा समन्वय शाखा थपियो । देश संघीय स्वरुपमा गए संगै संघ, प्रदेश र स्थानीय तहका सरकारहरु गठन भइ कृयाशिल रहेको अवस्था छ । सोही बमोजिम संवैधानिक व्यवस्था अनुसार तिनै तहको प्रशासनिक पुनर्सँरचना भइ संघ, प्रदेश र स्थानीय तह रहने गरी संगठन संरचना र जनशक्तिको दरवन्दी समेत नेपाल सरकारले स्विकृत गरिसकेको छ । सोही मुताविक नेपाल सरकारको मिति २०७५/०३/२७ को निर्णयबाट स्विकृत नयाँ संघीय संगठन संरचना अनुसार कृषि विभागको पुनर्सँरचना भइ महानिर्देशक र चार उपमहानिर्देशकको अलावा एघार शाखाहरु कायम गरिएको छ । नेपालमा संघियता लागु भए पश्चात हालको अवस्थामा प्रदेशस्तरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको स्थापना भएको छ । देश विकासको आयामलाई मुर्त रुप दिन सबै क्षेत्रको महत्पुर्ण योगदान रहेको छ । नेपाली अर्थतन्त्रको मुख्य क्षेत्रको रुपमा कृषि तथा पशुपालन रहेको छ । राष्ट्रिय अर्थतन्त्रको विकास तथा समृद्धिको लागि कृषि तथा पशुपालनको समग्र विकास गरि व्यावसायीकरण गर्नु आजको प्रमुख आवश्यकता रहेको छ । उत्पादनको साधनको रुपमा रहेको प्रचुर जमिन र दुई तिहाई उत्पादक शक्तिको रुपमा रहेको किसानलाई समेटेर कृषि तथा पशुपालन क्षेत्रको उत्पादन तथा उत्पादकत्व बृद्धि गरि राष्ट्रिय पुँजकिो सिर्जना गर्न सकिन्छ । कृषि तथा पशुपालन क्षेत्रको व्यावसायकिरण, आधुनिकीकरण तथा औधोगिकीकरण गर्दे कृषि तथा पशुजन्य उतपादनमा आत्मनिर्भर बनाउदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गरि समाजको अग्रगामी रुपान्तरणको दिशामा अघि बढनु आजको प्रमुख आवशयकता रहेको छ । सोही वमोजिम जिल्ला कृषि विकास कार्यालय मिति २०७५/०४/०१ गते अधिकारिक रुपमा खारेज भै सोही स्थानमा प्रदेश नं. २ मन्त्रिपरिषदको मिति २०७७/०५/२५ को निर्णयानुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत नयाँ कार्यालयको रुपमा कृषि ज्ञान केन्द्र सिरहाको स्थापना भएको हो । यस ज्ञान केन्द्र अन्तर्गत ११ वटा कर्मचारीहरुको दरबन्दी रहेका छन । यो कृषि ज्ञान केन्द्रको कार्यक्षेत्र सिरहा जिल्लाभरी रहेको छ । यो ज्ञान केन्द्र प्रदेश सरकार अन्तर्गत भएकोले कृषकहरुको आवश्यकता एवं चाहना अनुसार नयाँ सोचको साथ कार्य गरिरहेको छ ।